टाउकोमा चोट लाग्दा स्मरणशक्ति किन गुम्छ? स्मरणशक्ति गुमेकालाई के गर्ने?

टाउकोमा चोट लाग्दा स्मरणशक्ति किन गुम्छ? स्मरणशक्ति गुमेकालाई के गर्ने?
टाउकोमा चोट लाग्दा स्मरणशक्ति किन गुम्छ? 
स्मरणशक्ति गुमेकालाई के गर्ने?

डा गोपालरमण शर्मा

२०७५ चैत १४ बिहीबार ०७:००:०० प्रकाशित 
135
SHARES
FacebookTwitterMore

 

कुनै व्यक्ति दुर्घटनामा पर्छ। दुर्घटनामा टाउको ठोक्किँदा उसले आफ्ना सबै विगत भुल्छ। आफ्नै नाम, ठेगाना, घर, परिवार, आफन्त पनि बिर्सन्छ। आफन्तले उसको विगत सम्झाउन अनेक प्रयास गर्छन्। तर, सक्दैनन्। त्यही व्यक्ति फेरि कुनै दुर्घटनामा पर्छ वा अन्य केही कारणले टाउकोमा चोट लाग्छ। त्यसपछि उसको गुमेको स्मरणशक्ति फिर्ता हुन्छ।

यस्ता दृश्यहरु हामीले चलचित्रमा धेरै नै देख्ने गरेका छौं। चलचित्रका पात्रहरुमा भएको यस्तो घटना के साँच्चै वास्तविक जीवनमा पनि हुन्छ? 

चलचित्रमा देखाएझैँ टाउको ठोक्किएपछि व्यक्तिले आफ्नो सबै विगत भुल्ने र फेरि अर्को पटक ठोक्किएपछि फर्कने भन्ने हुँदैन। तर, टाउकोमा चोट लाग्दा उसको दिमागमा पर्न गएको क्षतिअनुसार केही समयको वा केही कुराहरु भने उसले भुल्न सक्छ। मस्तिष्कमा रहेको स्मरणशक्तिको केन्द्रमा परेको असरअनुसार व्यक्तिले निश्चित अवधिको सम्झना भने भुल्ने गर्छन्। कथाहरुमा जस्तो अर्को पटक टाउको ठोक्किएपछि फेरि सबै सम्झना फर्कंने भन्ने चाहिँ हुँदैन।

टाउकोमा चोट (हेड इन्जुरी) लाग्दा मानिसको स्मरण शक्तिमा हुने असरलाई दुई प्रकारमा वर्गीकरण गर्ने गरिन्छ। एउटा रेक्टोगेट एम्नेजिया र अर्को एन्टेरो गेड एम्नेजिया। 

रेक्टोगेड एम्नेजियामा दुर्घटना हुनुभन्दा अगाडिको निश्चित समयसम्मको कुनै पनि कुरा याद हुँदैन। बिरामीलाई दुर्घटना कति बेला भयो, केके भयो केही सम्झना हुँदैन। उसलाई घरबाट हिँडेकोसम्म वा घरमा कपडा लगाइरहेकोसम्म याद हुनसक्छ तर त्यसपछि कहाँ, केके भयो भन्ने थाहा नहुने हुन्छ।

एन्टेरोगेड एम्नेजियामा दुर्घटना भएको एक हप्तासम्म पनि केही थाहा नहुन सक्छ। यो बीचमा केके भयो भन्ने कुरा बिर्सिने हुन्छ। केही समयको लागि सबै मेमोरी लस हुन्छ। 

मस्तिष्कमा परेको क्षतिअनुसार बिर्सने समस्या
मस्तिष्क भनेको कम्प्युटर जस्तै हो। मस्तिष्कमा थुप्रै स्मरण केन्द्रहरु हुन्छन्। तीमध्ये टाउकोमा लागेको चोटका आधारमा कहाँ, कति असर गरेको छ त्यहीअनुसार स्मरण शक्ति गुम्ने समस्या देखिन्छ। कोही व्यक्तिमा मानिस नचिन्ने समस्या हुनसक्छ। केहीमा समय नै याद नहुने पनि हुन्छ। मानिसले केही कुरा तथा काम गरेको हुन्छ तर मस्तिष्कको केन्द्रमा परेको असरका आधारमा उक्त कुरा मस्तिष्कमा संकलन भएर बस्न नसक्ने हुनसक्छ। धेरैजसोमा तत्कालै भुल्ने समस्या हुन्छ। जस्तो भर्खरै चिया खाएको छ तर एकछिन पछि चिया खाएको छु भन्ने नै याद हुँदैन। चोटका कारण धेरै क्षति भएको छ भने मस्तिष्कले जे कुरा स्मरण गरेर राखेको थियो, त्यो कहिले पनि नसम्झँने समस्या पनि हुनसक्छ। केहीमा २/३ महिनापछि सम्झने शक्ति फर्कने पनि हुन्छ।

कहिलेकाहीँ टाउकोमा थोरै मात्र चोट लाग्दा पनि स्मरणशक्ति गुम्न सक्छ। कुनै बेला धेरै ठोक्किँदा पनि केही समयका लागि मात्र स्मरण शक्ति गुम्ने हुन्छ। त्यसलाई पोस्ट कन्कसन सिन्ड्रोम भनिन्छ। यो समस्या २४ घन्टापछि फर्कन्छ। स्मरणशक्ति गुम्दा लङ टम मेमोरी खराब भएको हँुदैन। धेरैजसो हेड इन्जुरीका बिरामीले पुराना कुरा गर्ने तर भर्खर घटेका घटना बिर्सने गर्छन्। 

दुर्घटना वा अन्य कारणले टाउकोमा हुने चोटलाई क्लोज र ओपन गरी दुई प्रकारमा बाँडिएको छ। चोट लाग्दा मस्तिष्क हल्लिएर वा क्षति भएर स्मरण गुम्ने हुन्छ। हेड इन्जुरी भएकामध्ये एक तिहाइमा स्मरण शक्ति गुम्न सक्छ।

हेड इन्जुरीलाई तीन भागमा विभाजन गर्न सकिन्छ। माइल्ड हेड इन्जुरी, मोड्रेट हेड इन्जुरी र सिभिएर हेड इन्जुरी। सय जना हेड इन्जुुरी भएका बिरामीमध्ये ८० जना बिरामीमा माइल्ड हेड इन्जुरी भएको पाइन्छ। माइल्ड इन्जुरी भनेको न्यूनतम चोट लागेको भन्ने बुझिन्छ। 

१० देखि १५ प्रतिशत बिरामीलाई मोड्रेट हेड इन्जुरी भएको पाइन्छ भने ५ प्रतिशत बिरामीलाई सिभिएर हेड इन्जुरी भएको पाइन्छ। माइल्ड हेड इन्जुरीमा स्मरण शक्ति गुम्ने वा कम हुने समस्या १० प्रतिशत हुन्छ, जसलाई पोस्ट कन्कसन सिन्ड्रोम भनिन्छ। मोड्रेट टु सिभिएर हेड इन्जुुरीमा एक तिहाइ बिरामीमा स्मरण शक्ति गुम्ने गर्छ। 

हेड इन्जुरी भएर स्मरणशक्ति गुम्ने समस्यालाई निम्न वर्गमा विभाजन गर्न सकिन्छः 

– इमिडेट मेमोरी लस (तुरुन्तै स्मरणशक्ति गुम्ने)
– सर्ट टम मेमोरी लस (छोटो समयको लागि स्मरणशक्ति गुम्ने)
– लङ टम मेमोरी लस (लामो समयको लागि स्मरणशक्ति गुम्ने)
– टोटल मोमोरी लस (सम्पूर्ण स्मरणशक्ति गुम्ने)

हेड इन्जुरीका बिरामीमा इमिडेट मेमोरी लस र सर्ट टम मेमोरी लस बढी हुन्छ। 

इमिडेट मेमोरी लसः इमिडेट मेमोरी लसमा बिरामीलाई आफ्नै अगाडि राखेको चिज कहाँ राखँे भन्ने पनि याद आउँदैन। राखेको सामान वा भनेको कुरा तुरुन्तै बिर्सने समस्या हुन्छ।

सर्ट टम मेमोरी लसः सर्ट टम मेमोरी लसमा ३० मिनेटभित्र वा एक घन्टाभित्र गरेको कुरा बिर्सने हुन्छ। जस्तैः किनमेल गर्नका लागि बजार निस्किएको व्यक्तिले बजार पुगेपछि के गर्न आएको हो भन्ने बिर्सने समस्या। एक तिहाइ बिरामीमा यस्तो समस्या देखिन्छ। 

यो ठूलो समस्या हो। यस्ता बिरामीमा अन्य समस्या पनि उत्पन्न हुन्छन्। जस्तैः कुनै पनि कुरामा ध्यान नदिने, समाजमा घुलमिल नहुने, समाजिक हिसाबले सुरक्षित महसुस नगर्ने। 

हेड इन्जुरीमा पोस्ट कन्कसन सिन्ड्रोम पनि एक प्रकारको एम्नेजिया नै हो। यो समस्या धेरैजस्तो खेलाडी, बक्सरहरुमा देखिन्छ। खेलाडीले खेल्दा बलले लाग्छ तर चोट लागेको कुरा उनीहरुलाई थाहा नै हुँदैन। थोरै समयको लागि मेमोरी लस हुन्छ तर खेल्ने समयमा मलाई चोट लागेको थियो भनेर पछि मात्र याद आउँछ। धेरै पटक खेलाडीमा यस्तो समस्या देखियोे भने पछि डेमेन्सिया, अल्जाइमर्स, पार्किन्सन लाग्ने सम्भावना बढी हुन्छ। 

लङ टम मेमोरी लसः मस्तिष्कमा परेको क्षतिअनुसार बिरामीमा लामो समयसम्मका लागि स्मरण शक्ति गुम्ने हुन्छ। पुराना, बितेका घटनाहरु, पुराना साथीभाइ, इष्टमित्र नसम्झने हुन्छ। लङ टम मेमोरी लस सिभियर हेड इन्जुरी भएका बिरामीमा पाइन्छ। डिमेन्सिया, अलजाइमर्स भएका बिरामीमा यस्तो समस्या देखिन्छ।

टोटल मोमोरी लस : यसमा बिरामीको सम्पूर्ण स्मरण शक्ति गुम्ने हुन्छ। उनीहरुले हाल र विगतमा घटेका तथा भएका घटना केही पनि याद गर्न सक्दैनन्। आफ्नै साथीभाइ र आफन्तलाई पनि चिन्दैनन्। उनीहरु जिउँदो मूर्तीजस्तो हुन्छन्। टोटल मेमोरी लस पनि सिभियर हेड इन्जुरी, डिमेन्सिया, अल्जाइमर्स, मेनिनजाइटिस, ब्रेनट्युमर, पारकिन्सोनिजम, स्ट्रोक आदि रोगमा देखापर्छ।

स्मरणशक्ति गुमेकालाई के गर्ने ?
स्मरणशक्ति गुम्नु भनेको बिरामी आफैंलाई मात्र नभई समाज, परिवार र राज्यका लागि पनि ठूलो चुनौती हो। यस्तो समस्याले गर्दा बिरामी, परिवार, समाज र राज्यले विभिन्न समस्या झेल्नु पर्छ। हेड इन्जुरीका बिरामीलाई निको बनाउन लाखौँलाख खर्च गर्नुपर्छ। कसैलाई निको नै नहुने पनि हुन्छ। त्यसले परिवारमा थप चुनौती थपिदिन सक्छ।

यस्ता बिरामीलाई समाजमा घुलमिल बनाउन के गर्न सकिन्छ त ? यस्ता बिरामीको स्मरणशक्ति बढाउन हालसम्म औषधिहरु आविष्कार भएका छैनन्। फिजियोथेरापी गराउने वा पुनस्र्थापना केन्द्र (रिह्याव सेन्टर) मा लागेर सुधारको प्रयास गर्न सकिन्छ।

स्मरणशक्ति गुमेका केही बिरामीलाई सबै कुराहरु सुरुदेखि नै सिकाउनुपर्ने हुन्छ। त्यसका लागि फिजियोथेरापी, स्पिच थेरापी तथा अन्य स्किल थेरापीको सहयोग लिनुपर्छ। 

कुनै बिरामीमा भने परिवारको साथ र सहयोगका कारणले दिमागको सेल विकास भएपछि विस्तारै स्मरण शक्ति फर्किएर आँउछ। त्यसकारण यस्ता बिरामीमा परिवार तथा समाजको साथ, माया र सहयोग आवश्यक पर्छ।

यस्तो समस्या भएका बिरामीमा समाजमा घुलमिल हुन नसक्ने, आफ्नो लागि आफैं निर्णय गर्न नसक्ने समस्या आउन सक्छ। उनीहरुलाई न्युरोलोजिस्ट, साइकोलोजिस्टको सहायताले ठिक बनाउन सकिन्छ। 

हेड इन्जुरीका कारणले कोमामा गएका बिरामीबाहेक होस्मा आइसकेका तर स्मरण शक्ति नभएका बिरामीलाई निको हुन ६ महिनाको समय दिइएको हुन्छ। ६ महिनाभित्र भएन भने निको बनाउन गाह्रो हुन्छ। निको हुने बिरामीको ६ महिनाभित्र नै ९० प्रतिशत निको हुने सम्भावना हुन्छ भने ६ महिनापछि १० प्रतिशत मात्र सम्भावना हुन्छ। 

यस्ता समस्यामा उमेरले धेरै फरक पार्छ। भर्खरको उमेर छ भने निको हुने सम्भावना बढी हुन्छ। उमेर घर्किइसकेको छ भने निको हुने सम्भावना कम हुन्छ।

(वरिष्ठ न्युरो सर्जन डा शर्मा मेडिसिटी अस्पतालमा कार्यरत छन्।)

https://swasthyakhabar.com/story/27460

Website Visitors: 142090