सर्जन्स स्टोरी– न्युरो सर्जन गोपालरमण शर्माले सम्झिरहने ती ५ जटिल सर्जरी
January 1, 1970

सर्जन्स स्टोरी– न्युरो सर्जन गोपालरमण शर्माले सम्झिरहने ती ५ जटिल सर्जरी

डा गोपालरमण शर्मा कुशल न्युरो सर्जन हुन् । उनको चिकित्सकीय सेवा पाएका बिरामी उनलाई सर्जन मात्रै नभइ सज्जन पनि भन्छन् । त्यसैले दशैंमा टीका थाप्न आउनेदेखि दही लिएर आउने बिरामी प्रशस्तै छन् । किनभने नशा बन्द भएर जीवन नै बन्द हुने अवस्थामा पुगेका कतिको नशासँगै नयाँ जीवनको बाटो खोलिदिएका छन् । ट्युमर भएर भारी लागिरहेको कतिको जिन्दगीलाई हलुंगो बनाएका छन् ।

अहिलेका यी नामी न्युरो सर्जनलाई खाशमा न्युरो सर्जन बन्नु थिएन । लोकसेवाबाट मेडिकल अधिकृतमा नाम निकालेपछि वीर अस्पतालमा खटाइएका थिए । र, उनको सपना थियो जनरल सर्जन बन्ने । तर, परिस्थितिले उनलाई न्युरो सर्जनको बाटोतिर डोर्यायो । भन्छन्, ‘त्यतीबेला सर्जरी विभाग खाली थिएन, ६ महिनाका लागि न्युरो सर्जरीमा काम गर्न पठाइयो ।’ त्यो ६ महिनाले उनको जीवनकै लक्ष्य मोडिदियो । उनमा न्युरोप्रति रुची बढ्दै गयो, आफ्नो आवश्यकता पनि न्युरोमै रहेको महशुश गरे । अहिले उनी नेपालका उत्कृष्ट न्युरो सर्जनमध्ये पर्छन् । थुप्रै जटिल केश सल्टाएका छन्, थुप्रैलाई पुनर्जीवन दिएका छन् । तीमध्ये उनले सर्जरी गरेका ५ बिरामी हामीले सम्झिन लगाएका छौं ।
दही बोकेर दशैंमा आउँछन् जो
झण्डै २५–२६ वर्षअघि डेढ वर्षको बच्चा ५ तलाको घरबाट खसेपछि उपचारका लागि वीर अस्पतालमा ल्याइएको थियो । भक्तपुर निवासी अवाले थरका ती बालकको टाउकोमा चोट लागेकाले तत्काल सर्जरी गर्नुपर्ने भयो । डा शर्मा बाहेकको विकल्प थिएन । त्यसअघि न्युरो सर्जन डा गंगोलको सहायक भएर केही सर्जरी गरिसकेका थिए । तर, पहिलोपल्ट आफ्नै नेतृत्वमा त्यो सर्जरी गर्नुपर्नै भयो । उनी सम्झिन्छन्, ‘सर्जरी गर्नैपर्ने थियो । सिनियर डाक्टरको समय थिएन । आँट गरें ।’ सर्जरी सफल भयो । तीन हप्ता अस्पताल राखेपछि ती बालक तन्दुरुस्त भए । त्यसको केही वर्षपछि आफैं दही बोकेर दशैंमा टीका थाप्न आउन थाले भक्तपुरका एक युवक । अहिले एमबिए सकेको ती युवक उनले पहिलोपल्ट सर्जरी गरेका तिनै डेढ वर्षका अवाले थरका बालक हुन् ।
प्यारलाइसिस व्यक्ति जब घरबार बसाउँछ
चिकित्सकको काम नै पुनर्जीवन दिनु हो । कतिपय जीवनले यस्तो पुनर्जीवन पाउँछन्, जो उसले कल्पना गरेको हुँदैन । तामाङ थरका एक बिरामी सम्झिए शर्माले । जसले आजको जीवनको कल्पना गरेका थिएनन् । प्यारालाइसिस भएर ह्वीलचियरमा पुगिसकेका थिए उनी ।
त्यो समय २२ वर्ष मात्रै पुगेका युवक ह्वीलचियरमा उपचारका लागि डा शर्माकहाँ आइपुगेका थिए । डा शर्मा सम्झिन्छन्, ‘स्पाइनल ट्युमर भएको थियो । ५ घन्टा लगाएर अप्रेसन गरें ।’ उनी सञ्चो भए ।  बिस्तारै हिँड्न सक्ने भए । आज एक सञ्चारमाध्यममा काम गर्छन् । घरबार छ । छोराछोरी छन् । ‘प्यारालाइसि भएपछि अहिलेको जीवनको उनले कल्पना गरेका रहेनछन्,’ डा शर्मा भन्छन्, ‘बेला–बेला सम्झिरहन्छन् । मलाई चुनौतीको सामना गर्न हौसला मिल्छ ।’
विदेशीलाई विश्वास दिलाउँदा
 

यो त्यो समयको कथा हो । जुन समयमा नेपालमा अहिलेजस्तो न्युरो सर्जरी स्रोत साधनले सम्पन्न थिएन । डाक्टर प्रविधिको पहुँचमा पुग्न थालेकै थिएनन् । एक इजरायली युवती सगरमाथाको बेसक्याम्प जाँदै गर्दा बाटैमा प्यारालाइज्ड भइन् । डा शर्माका अनुसार उनको मेघ डिस्क कोल्याप्स भएको थियो । यो भनेको गह्रौं भारी बोक्दा मेरुदण्डको बिचमा रहेको कुरकुरे हड्डीमा समस्या आउनु हो ।

‘हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएकी उनी पूर्ण रुपमा प्यारालाइज्ड अवस्था थिइन्,’ डा शर्माले भने, ‘तुरुन्तै अप्रेसन नगरे उनको अवस्था सुध्रिने थिएन ।’ उनले चाँडो भन्दा चाँडो अप्रेसन गर्न सल्लाह दिए । तर, नेपाली डाक्टरलाई ती युवतीले विश्वास गर्न सकिनन् । आफ्नै देशमा गएर गर्ने बताइन् । डा शर्माले त्यति लामो समयसम्म जे पनि हुनसक्ने बारे उनलाई बताइदिए । ती युवतीले प्रश्न गरिन्, ‘मेरो उपचार नेपालमै हुन्छ भनेर परिवारलाई कसरी कन्भिन्स्ड गर्ने । तिम्रो वेवसाइड छ भने देऊ ।’

त्यस्ता प्रविधिमा नेपालका डाक्टरले पहुँच बनाइनसकेको अवस्था थियो । उनको अभिभावकसँग फोनमै कुरा गरे डा शर्माले । तुरुन्तै अभिभावकले सर्जरी गरिदिन आग्रह गरे । अप्रेसन भएको दुई हप्तापछि उनी हिँड्न सक्ने भइन् । अहिले पढाइसकेर इजरायलकै एक युनिभर्सिटीमा प्रोफेसर भइसकेकी उनी डा शर्माको सम्पर्कमै छिन् । ‘नेपाली डाक्टर निकै क्षमतावान रहेको उनले आफ्नो देशमा पनि सुनाउने गरेको बताउँछिन्,’ डा शर्माले भने, ‘यो हाम्रो देश र डाक्टरका लागि राम्रो कुरा हो ।’
वीरमा गरिएको त्यो दुर्लभ शल्यक्रिया
 

डा शर्माले गरेको यो शल्यक्रियाको निकै प्रशंसा भएको थियो । वीर अस्पतालमा भएको यो न्युरोको दुर्लभ शल्यक्रियामध्ये पर्छ । ललितपुर खोकनाकी ती युवतीको ब्रेनभित्र झण्डै गोलभेंडाको आकारको रगतको ढिका जमेको थियो । दिमागको नसा फुलेर बेलुन जस्तो हुने रोग ‘जाइन्ट एनोरीजम’ को १६ घण्टा लामो समय लगाएर सफल शल्याक्रिया गरिएको थियो । शर्माको अनुसार ३३  वर्षीया महर्जन थरकी उनलाई गरिएको त्यो शल्यक्रियालाई इसिआइसि वाइपास सर्जरी भनिन्छ ।

चीनबाट यससम्बन्धि विशेषज्ञ डा श्रीसान बोलाएर उनको समूहले नेपालमै त्यसको शल्यक्रिया गरेको थियो ।  जुन सर्जरी नेपालका लागि ऐतिहासिक सावित भयो । ‘त्यसपछि सोही प्रकृतिका ५ वटा सर्जरी गरिसकें,’ डा शर्माले भने । त्यो समय डा शर्माको टिमले आँट नगरेको भए त्यस्तो समस्या भएका बिरामीलाई बिदेश पठाउनुपथ्र्याे । आर्थिक क्षमता कमजोर भएकाहरुले मृत्यु कुर्नुको विकल्प हुन्थेन ।
स्कुल जाने तयारीमा सलोन
सम्झिन लायक धेरै सर्जरी छन्, धेरै बिरामी छन् डा शर्मासँग । तर, कति बिरामीसँग भावनात्मक सम्बन्ध यस्तरी जेलिएको हुन्छ कि थोरैलाई सम्झिँदा पनि ती सम्झनाको डिलमै आएर बसिदिन्छन् । भर्खर ३ वर्ष पुग्दै गरेकी सलोन नामकी बालिका डा शर्माको सम्झनामा आइहालिन् । केही समयअघि मात्रै उनको जन्मजात ब्रेन ट्युमर हटाइदिएका थिए डा शर्माले । यो वर्षदेखि स्कुल भर्ना भएर जीवनको उज्यालो मार्ग पकड्न खोजीरहेकी छिन् सलोन ।
जन्मेको डेढ महिनामै डा शर्माकहाँ ल्याइपुर्याइएको थियो सलोनलाई । त्यो समय शल्यक्रिया गर्दा निकै जोखिम हुने र हेरबिचार गर्न पनि मुश्किल पर्ने भएकाले पछि गर्ने भनेर फर्काइदिए उनले । निरन्तर चेकजाँच र सम्पर्कमा रहेकी सलोनको दुई महिनाअघि मात्रै उनले ब्रेनबाट ट्युमर निकालिदिए । १० घण्टा लामो शल्यक्रियापछि त्यो संभव भएको थियो ।
Source: http://www.swasthyakhabar.com/np-archive/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8%E0%A5%8D%E0%A4%B8-%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%8B%E0%A4%B0%E0%A5%80-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%B0%E0%A5%8B-%E0%A4%B8/

Share: